छालिङ्गको वडा कार्यालयमा मालपोत असूली गर्ने कर्मचारीद्धारा भ्रष्टाचार

0
4206

भक्तपुर । छालिङ्गमा सेवाग्राहीलाई वडा कर्मचारीले ठगी गरेको छ । वडा कार्यालयमा सेवा लिन गएका छालिङ्गकै स्थानीय व्यक्तिलाई पैसा ठगी गरेको हो ।

छालिङ्गको एक सेवाग्राहीले भने “केही दिन अघि म मेरो जग्गाको मालपोत तिर्न चाँगुनारायण नगरपालिका स्थित वडा नं ५ छालिङ्ग वडा कार्यालयमा पुगेको थिएँ । वडा कार्यालयमा मेरो जग्गाको मालपोत रकम जम्मा ८०० रुपैंया बुझाउनु पर्ने थियो । मालपोत रकम असुलीको जिम्मा नगरपालिकाले एक महिला कर्मचारीलाई दिएको रहेछ । उनको नाम मलाई थाहा भएन । मैले ती कर्मचारीलाई रसिद अनुसारको रकम बुझाउन रु १००० को नोट दिएँ । त्यसबाट मलाई २०० रुपैंया फिर्ता आउनुपर्ने थियो, तर ती महिला कर्मचारीले पैसा फिर्ता दिइनन् । धेरै पटक माग्दा पनि ‘ जाबो २०० रुपैंया त हो नि, मलाई खाजा खर्च हुन्छ, म.म खान हुन्छ’ भनी पैसा फिर्ता दिन अन्कनाई रहिन् । धेरै कराएपछि मात्र ती कर्मचारीले मेरो रकम फिर्ता गरिन् । त्यसपछि म त्यहाँबाट निस्के ।”

वडा कार्यालयमा मालपोत तिरेर फर्केका अर्का सेवाग्राहीले पनि मालपोत शाखामा बस्ने तीनै महिला कर्मचारीले फिर्ता आउनुपर्ने ३०० रुपैयाँ नदिई ठगी गरेको जानकारी दिए । त्यतिमात्र नभई कार्यालयमा मालपोत तिर्न आएका धेरै सेवागाहीलाई उनले १००, २००, ३०० गरेर ठगेको दुखेसो स्थानियसँग पोखेको पनि थाहा पाइयो । यो सँगसँगै छुट्टा आउनुपर्ने दश बिस रुपैयाँ फिर्ता नदिने गरेको गुनासो धेरै सुनियो । उनले सेवाग्राहीसँग काम गरिदिएबापत घुस माग्ने गरेको गुनासो पनि सुनियो ।

यसरी दिनदहाडै ती कर्मचारीले छालिङ्ग वडा कार्यालयमा मालपोत तिर्न आउने सेवाग्राहीलाई ठगीरहेको छ । मालपोत, नापी, गुठी संस्थानलगायतका सरकारी कार्यालयहरूमा कर्मचारीले ठगी गरेको कुरा बाहिर आएको हो ।